उत्तरगया गापाको संक्षिप्त परिचय
प्रदेश : वागमती
वडा संख्या :  ५  (पाँच)
क्षेत्रफल :             ब.कि.मी
अक्षांस :   
देशान्तर :   
जम्मा जनसंख्या (जनगणना २०६८) :  
पुरुष जनसंख्या :   
महिला जनसंख्या :   
जनघनत्व :   
घरपरिवारको संख्या :   
जनसंख्या बृदिदर : -०.३३ (रसुवा)
लैङ्गिक अनुपात :   
औषत परिवारक आकार :  
सबैभन्दा होचो स्थान :   
सबैभन्दा अग्लो स्थान :   

कोरोना र विस्थापित बस्तीमा परेको प्रभाव

 


विश्वास नेपाली


लकडाउनको कारण यतिबेला मुख्य समस्या विस्थापित भई बसोबास गर्ने परिवारलाई बढी परेको छ । उसै त समस्यामा रहेका परिवार झन् अर्काे महामारी थपिएपछि स्वभाविक रुपमा यसले नयाँ समस्या सिर्जना गरेको छ । विस्थापितहरू लकडाउनको कारण घरभित्रै बस्न बाध्य छन्, जीविकोपार्जनको लागि आयआर्जन गर्ने काम पनि यतिबेला रोकिएको छ । 


 

हामी यतिबेला कोरोनो भाइरस (कोभिड–१९) को कारण फैलन सक्ने सङ्क्रमणबाट बच्च र बचाउनको लागि लकडाउनमा छौं । घरमै बसेर, सामाजिक दूरी कायम गरेर मात्र कोरोना जस्तो महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने भनाई विश्व स्वास्थ्य सङ्गठन पनि छ । सोहीअनुसार आज लगभग विश्व समुदाय घरभित्रै सिमित हुनु परेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड–१९ ले विश्वको २१३ देशलाई प्रभावित गरिसकेको छ । यो भाइरस गत जनवरी महिनामा चीनको वुहान सहरबाट फैलिएको थियो । यत्ति छोटो समयमै यसले संसारलाई प्रभावित ग¥यो । यसर्थ यसले महामारीको रुप लिएको छ । यसले करिव २ लाख मानिसहरूको ज्यान लिइसकेको छ भने करिव ३० लाख मानिसहरूलाई प्रभावित गरेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

कोभिड–१९ को कारण नेपालमा बन्दाबन्दी ‘लकडाउन’ भएको गत चैत ११ गतेदेखि हो । लगातार ४ पटकसम्म लकडाउनको समयवधि सरकारले थप गरिसकेको छ । पछिल्लो पटक सरकारले आगामी वैशाख २५ गतेसम्मको लागि लकडाउनको समय थपेको छ । थाहा छैन, अझै कति दिन नेपालीहरूले लकडाउनको सामाना गर्नुपर्ने हुन्छ ।

लकडाउनको कारण यतिबेला मुख्य समस्या विस्थापित भई बसोबास गर्ने परिवारलाई बढी परेको छ । उसै त समस्यामा रहेका परिवार झन् अर्काे महामारी थपिएपछि स्वभाविक रुपमा यसले नयाँ समस्या सिर्जना गरेको छ । विस्थापितहरू लकडाउनको कारण घरभित्रै बस्न बाध्य छन्, जीविकोपार्जनको लागि आयआर्जन गर्ने काम पनि यतिबेला रोकिएको छ ।

 

कतिपय विस्थापित बस्तीका मानिसहरू भने गाउँघर फर्किएर खेतीपातीमा पनि जुटेका छन् । आमाछोदिङ्मो गाउँपालिका वडा नं. २ सानो हाकुमा ५० देखि ५५ घरमा मानिसहरू फर्किएर खेतीपातीमा जुटेका स्थानीय अगुवा सोमबहादुर तामाङ बताउँछन् । उनका अनुसार अहिले त्यहाँ मुसुरो बाली सङ्कलन गर्ने, कुट्ने, मकै र आलु गोड्ने समय भएको छ ।


 

 

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ५ खाल्टे बगरमा, बोगटीटारमा, गोसाइँकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चेमा विस्थापित शिविर छ । यस्तै, नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ शान्तिबजार, विदूर नगरपालिकाको पिपलटारको इनारपाटीमा विस्थापितहरू अस्थायी टहरो (क्याम्प) मा बसोबास गरिरहेका छन् । यी क्याम्पहरूमा करिव ४०० परिवार अहिले पनि विस्थापित बसोबास गरिरहेका छन् ।

२०७२ साल वैशाखमा गएको भूकम्पको कारण आफ्नो साविक बासथलोमा पहिरो गएको वा सम्भावित जोखिमको कारण बस्न नमिल्ने भएपछि कतिपय विस्थापित सुरक्षित घडेरीमा स्थानान्तरण भएका छन् भने कतिपय अझै बाँकी विस्थापित बस्तीमै छन् ।

रसुवा जिल्लामा भूकम्पको कारण १०५८ परिवार विस्थापित भएका थिए । तीमध्ये हालसम्म ६६८ परिवार स्थानान्तरणको लागि जग्गा खरिद गरी पुनर्वासको प्रक्रियामा छन् भने बाँकी अझै पनि कति न कतै विस्थापित रुपमा बसोबास गरिरहेका छन् ।

खाल्टे, बोगटीटारमा, धुन्चेमा, शान्ति बजार, इनारपाटी लगाएतको ठाउँमा भएको क्याम्पहरूमा ४०० परिवार विस्थापित बसोबास गरिरहेको त्यहाँका अगुवाहरूले जानकारी दिएका छन् । उनीहरू अहिलेको अवस्थामा विस्थापित बस्तीमै रहेको टहरामा बसोबास गरी कोरोना सङ्क्रमणबाट बच्ने प्रयासमा छन् ।

विस्थापित बस्तीका अगुवाहरूसँग गरिएको कुराकानीअनुसार बस्तीमा अहिले खाद्यन्न लगायत अन्य समस्याहरू पनि थपिएका छन् । मानिसहरू घरभित्रै बस्न बाध्य भएको कारण आम्दानी स्रोत रोकीएको छ । तर कतिपय विस्थापित बस्तीका मानिसहरू भने गाउँघर फर्किएर खेतीपातीमा पनि जुटेका छन् । आमाछोदिङ्मो गाउँपालिका वडा नं. २ सानो हाकुमा ५० देखि ५५ घरमा मानिसहरू फर्किएर खेतीपातीमा जुटेका स्थानीय अगुवा सोमबहादुर तामाङ बताउँछन् । उनका अनुसार अहिले त्यहाँ मुसुरो बाली सङ्कलन गर्ने, कुट्ने, मकै र आलु गोड्ने समय भएको छ । परिवारका सदस्य र छिमेकीहरूको समेत सहयोग लिई कृषि कार्य भइरहेको छ ।

यस्तै, खाल्टेमा बसोबास गर्ने २१० घरधुरी विस्थापित मध्ये अहिले आधा जस्तो मानिसहरू खेतीपातीको लागि गाउँघरमा फर्किएका छन् । उत्तरगया गाउँपालिका वडा नं. १ वडा सदस्य तथा विस्थापित अगुवा पूर्णबहादुर घलेकाअनुसार पुरानो गाउँ गोगनेमा यस वर्षदेखि मानिसहरूले थोरै थोरै मात्रामा मकै रोप्ने काम सुरुवात गरेका छन् । यो समय मकै गोडेमल गर्ने सिजन भएको हुँदा मानिसहरू गाउँघर फर्र्किएका छन् । बाँकी मानिसहरू अहिले टहरोमै छन् । उनीहरूको अहिलेसम्म पनि पुनर्वास हुन सकेको छैन । उनीहरू घर फर्कन सक्ने अवस्थामा पनि छैनन्, खाल्टेमा बसोबास गर्ने अधिकाशं भूकम्प पीडित विस्थापितको साविक बस्ती हाकुको गोगन खण्डहर जस्तै छ । पुरानो भत्किएको बस्ती जस्ताको त्यस्तै छ । उनीहरू ५ वर्षदेखि पुनर्वासको पर्खाइमा छन् ।

 

राहतको रुपमा चामल मात्र वितरण गरिएको र अन्य सामग्री सहयोग नआएको हुँदा सामान्य जीवनयापन जस्तै दैनिकी सहज नभएको विस्थापित बस्तीका अगुवाहरू बताउँछन् । बस्तीमा रहेका कतिपय जेष्ठ नागरिक, अपाङ्गता तथा घाइते भएका परिवार, एकल महिला अविभावक भएको परिवारमा खाद्यन्न लगायतको समस्या परेको उनीहरू बताउँछन् ।
 

अहिले यहाँका मानिसहरूको आम्दानीको स्रोत रोकीएको छ । बजार नजिकै जाने जालादारी गर्ने, सडक तथा हाइड्रोपावरमा श्रम गर्ने कामहरू पनि रोकिएको छ । बालबालिका, महिलाहरू सबै घरभित्रै छन् । कतिपयले भने वरपरको गाउँलेसँग समन्वय गरी खेती अधिँया लिई खेतीपाती गर्न पनि थालेका छन् ।

बोगटीटारमा बसोबास गर्ने भूकम्प पीडित विस्थापितको समस्या पनि उस्तै छ । उनीहरूले डेढ वर्ष पहिले नै जग्गा खरिद गरेको भएपनि पुनर्वास सुरुवात नभएको कारण अस्थायी टहरोमै बस्न बाध्य छन् । उनीहरू एकीकृत बस्तीमार्फत पुनर्वासमा जाने योजनामा थिए तर हालसम्म पनि एकीकृत बस्ती निर्माणको प्रक्रिया सुरु नभएको हुँदा उनीहरू बसोबास गरेकै अस्थायी क्याम्पमा बसोबास गर्न बाध्य छन् । यी क्षेत्रका भूकम्प पीडित विस्थापितहरू पुनर्वासको पर्खाइमा छन् ।

लकडाउनको मारमा परेका विस्थापित परिवारलाई उत्तरगया गाउँपालिकाको समन्वयमा केही हाइड्रोपावर कम्पनी र सघं संस्थाको सहयोगमा प्रति घरधुरी १ बोरा हुने गरी राहत स्वरुप चामल वितरण गरिएको थियो । राहतको रुपमा चामल मात्र वितरण गरिएको र अन्य सामग्री सहयोग नआएको हुँदा सामान्य जीवनयापन जस्तै दैनिकी सहज नभएको विस्थापित बस्तीका अगुवाहरू बताउँछन् । बस्तीमा रहेका कतिपय जेष्ठ नागरिक, अपाङ्गता तथा घाइते भएका परिवार, एकल महिला अविभावक भएको परिवारमा खाद्यन्न लगायतको समस्या परेको उनीहरू बताउँछन् ।

सरकारले यसरी विस्थापित भई आफ्नो साविक बस्तीमा नबसेका, नियमित आम्दानीको स्रोत नभएका, ज्यालामजदूरीको काम समेत रोकिएको यो समयमा विशेष राहतको प्योकज बनाई सहयोग गर्नुपर्ने आवश्यकता छ । बस्तीमा रहेका बालबालिका, महिला, अपाङ्गता भएका व्यक्तिहरूलाई पनि राहत स्वरुप सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।

यो लेखलाई विश्वास नेपालीको ब्लगमा पनि हेर्नुहोला

रसुवाको सेरोफेरो

-केबी मसाल-

तिव्वतसँगको लडाइमा किल्ला बनाइएको रसुवागढीको ऐतिहासिक स्थल राम्चे भन्दा दक्षिण भेगका वजार उन्मुख ग्रामीण वस्ती ऐतिहासिक कालिकास्थान, जिवजिवे, सरमथली, वरपरका पहाडी श्रृखलामा रहेको सुन्दर गाउँहरुको अवलोकन समेत गर्न सकिन्छ । एक पटक रसुवा जिल्ला को भ्रमण गर्नुहोस प्राकृतिक र धार्मिक सन्तुष्टी प्राप्त गर्नुहोस ।

नेपालको भूगोलमा वि.स.२०१८ साल वैशाख १ गते भन्दा पहिले रसुवा जिल्ला पश्चिम १ नम्वरमा थियो । धादिङ्, नुवाकोट र रसुवा एउटै जिल्लामा राखिएको थियो । यसको सबै प्रशासनिक कामहरु नुवाकोटबाट हुने गर्थ्यो । रसुवा बागमती अञ्चलको उत्तरी भेगमा अवस्थित एक हिमाली जिल्ला हो । सदरमुकाम घुन्चे समुद्र सतहदेखि ६ हजार ४०० फिटको उचाइमा रहेको छ । काठमाण्डौदेखि ११८ कि.मि को दूरीमा रहेको छ । हिमाली जिल्ला भए पनि रसुवा जिल्लाको विभिन्न गाविसहरुमा मोटर मार्ग बनेको छ । यो बर्ष मात्र स्याफ्रुबेसी रसुवागढी बीचको ११ कि.मि.मोटरमार्गको ट्राक खोल्ने काम सकिएको छ । मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसग सिमाना जोडिएको यो जिल्लाको टिमुरे नाका हुदै केरुङ्सँग व्यापार हुदै आएको छ ।

हिमाली १६ वटा जिल्लाहरु मध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो रसुवा जिल्ला हो । पूर्वमा सिन्धुपाल्चोक, दक्षिणमा नुवाकोट, पश्चिममा धादिङ जिल्लासँग भौगोलिक सिमाना जोडिएको यस जिल्लाको उत्तरतर्फ भने चीनको स्वशासित क्षेत्र तिव्वतसँग जोडिएको छ । रसुवा जिल्लाको नाम तिब्बती भाषाको “र“ “सोवा“ शब्दलाई उदृत गरिएको पाइन्छ । तिब्बती भाषामा “र“को अर्थ भेडा च्याङग्रा र “सोवा“को अर्थ चराउने वा राख्ने ठाउँ भन्नेकुरा बुझाउँछ । अर्थात प्रशस्त भेडा च्याङग्रा पाइने स्थान भएकोले “रसोवा“ भन्ने गरेको र त्यसको अपभ्रंश भई स्थानीय वोलीचालीको भाषामा रसुवा भन्न थालिएको भनाई रहेको छ । जिल्लाको भूगोल अनुसार सदरमुकाम धुन्चे भन्दा माथी लाई उपल्लो र दक्षिण भागको भूगोललाई तल्लो रसुवा भन्ने पनि गरिन्छ । रसुवा जिल्ला पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यस जिल्लामा रहेको गणेश हिमाल, लाङटाङ हिमाल, लिरुङ हिमाल, यालापिक, लाङसिसा, स्याङजेन खर्क जस्ता प्राकृतीक स्थलको अवलोकन गर्न आन्तरिक एवं वाह्य पर्यटकहरु रसुवा जाने गर्दछन ।

रसुवा जिल्लामा कुल १८ वटा गाविस रहेको छ । कुल क्षेत्रफल १,५१२ वर्ग किलोमिटर रहेको रसुवा जिल्लामा सबैभन्दा होचोस्थान ६१४ मिटर र सबैभन्दा अग्लोस्थान ७,२२७ मिटरका पहाड, हिमाल, उर्वर टार तथा वेसी र फाँटहरुले जिल्लाको भूगोल बनेको छ । फलाखु खोलाको वेसी, स्याप्रुवेसी, वेत्रावती, पैरेवेसी आदि समथर वेसीहरु र पहाडको कुनाहरुमा छरिएर रहेका गोल्जुङ, चिलिमे आदि साना ठूला टारहरु नै यस जिल्लाका प्रमुख वेसी र फाँटहरु हुन । पर्यटकमाझ लाङटाङ पदमार्गमा उच्च भागको सेताम्मे हिमाल, स्वच्छ, चिसो हावा, गोसाइँकुण्ड, हिउ पग्लेर निरन्तर बग्ने हिमनदी मिश्रण वनस्पति, वन्यजन्तु, उकालीओराली, भञ्ज्याङ चौतारी, जैविक विविधताको अवलोकन रसुवा जिल्लामा गर्न सकिन्छ । विभिन्न जातजाति, भाषाभाषी सम्प्रदाय र धर्मावलम्वीहरुको बसोवास रहेको यस जिल्लामा विभिन्न धार्मिक साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ताल तलैया, हिमाल, मन्दिरका साथै रसुवा गढी र उत्तरगया जस्तो ऐतिहासिक स्थल गोसाईकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, पार्वतीकुण्ड, दुधकुण्ड, जागेश्वरकुण्ड लगायत १०८ कुण्डहरु रहेका छन । चिलिमे, टिमुरे, स्याफ्रु, भार्खुमा भएको तातोपानी, जैबिक बिबिधताले भरिपूर्ण लाङ्टाङ् राष्ट्रिय निकुञ्ज क्षेत्र राजधानी काठमाडौंबाट नजीकमा पर्ने दोस्रो राष्ट्रिय निकुञ्ज हो । प्रसिद्ध ऐतिहासिक एवं धार्मीक गोसाइकुण्ड पनि यसै लाङटाङ राष्ट्रिय निकुञ्जको भूगोल भित्र पर्दछ ।

नेपाल–चीन सीमाना रसुवाको टिमुरे गाविसमा रहेको रसुवागढी डेढ शताव्दी पुरानो ऐतिहासिक धरोहर हो । यो नेपाली इतिहासको साक्षि पनि मानिन्छ । बहादुर शाह र जंगबहादुर राणको पालामा तिब्बतसँग भएको लडाईमा यही गढीबाट नेपाली पुर्खाहरुले लडेर तिब्बतसँग युद्ध जितेका थिए । रसुवागढी प्राचीनकालमा नेपाल र भोटवीच चल्ने व्यापारको प्रमुख नाका थियो । लिच्छवीकालीन अंशुबर्माको शासनकालका बेला उनकी छोरी भृकुटी यही नाका हुदै घरमाईती गर्ने गरेकी थिइन् । मल्लकालमा पनि रसुवागढी नाकावाट तिव्बतसँग ब्यापार हुने गरेकाले यो मुख्य परम्परागत ऐतिहासिक ब्यापारिक नाका हो । मध्यकालको उत्तराध्र्दसम्म पनि यो ठाँउ प्रमुख ब्यापारिक मार्ग र केन्द्रको रुपमा परिचित रहेको देखिन्छ । बहादुर शाहको नायबीकालमा भएको नेपाल–भोट युद्धमा भोटको सहायताको लागि यही बाटो हुदै आएका चिनिया सेना नेपाललाई हराउदै बेत्रावतीसम्म पुगेको इतिहासमा उल्लेख छ । चीनसगको लडाईका बेला नेपाली लडाकूले आफ्नो सुरक्षाका लागि बनाएका हुन् यो गढी । ठूलाठूला ढुंगा कुदेर बनाइएको अग्लो पर्खालमा शत्रुलाई निसाना लगाउन स–साना ४७ वटा प्वाल र ६० फिट लम्बाई ६ फिट उचाई र ६ फिट चौडाईको गढीमा बसेर नेपाली फौज आफू सुरक्षित रहदै चिनिया फौजसग चार पटकसम्म लडाई लडेका थिए । यस गढीबाट लिन्दे र केरुङ नदीको संगम भएर भोटेकोशी नदी बनेको संगमस्थल नजिकै देख्न सकिन्छ ।

गोसाईकुण्ड यस कुण्ड समुन्द्र सतह देखि १४,६०० फिटको उचाई अवस्थित रहेको छ । जिल्ला सदरमुकाम धुञ्चे देखि ४ घन्टाको उकालो बाटोमा पर्ने घट्टेखोला, ढीम्सा, चन्दनवारी, चोलाङपाटी, लौरीविनायक, गणेशगौडा हुदै विभिन्न प्राकृतिक दृश्य र जंगली जनावरको दृश्यावलोकन गर्दे गोसाईकुण्डमा पुगिन्छ । पौराणिक कालमा शंकर माहादेवले कालकुट विष पान गरेपछि विषको डाह शान्त पार्न पानीको खोजीमा हिडदा त्यस ठाउँमा आफ्नो त्रिशूलले पहरामा प्रहार गरी पानीको सृष्टि गरेको दहमा डुवेर विषजलन शान्त पारेको हुँदा यस कुण्डलाई गोसाईंकुण्ड भनिएको किम्वदन्ती छ । महादेव शंकरले त्रिशूल प्रहार गरी पानी निकालेको हुनाले पानी निस्किएको ठाउँलाई त्रिशूल धाराको रुपमा चिनिन्छ र त्यस त्रिशूल धारावाट वगेर तल तालको रुप लिएको ठाउलाई गोसाईंकुण्डको नामले चिनिन्छ । त्रिशूली नदीको मुहानको रुपमा त्रिशूल धारालाई लिइन्छ । भक्तजनहरु यस धारामा त्रिशूल चढाउँदछन भने दशहरा र ऋषि तर्पणी अर्थात जनै पूर्णिमाका दिन गोसाईकुण्डमा मेला समेत लाग्ने गर्दछ । गोसाईंकुण्ड कै नजिकमा भैरव कुण्ड पर्दछ । यस कुण्ड गोसाईंकुण्डको निकासवाट निस्केको पानीवाट दहको रुप लिई वनेको हो । यस कुण्ड गोसाईंकुण्ड जत्तिको फराकिलो रुपमा नभएपनि यस कुण्डमा रहेको पानी गाढा निलो र कालो देखिने भएको हुदा यो कुण्डको छुट्टै विशेषता रहेको छ । गोसाईंकुण्डको स्नांन पश्चात यस कुण्डलाई नहेर्नु भन्ने जनधारणा रहेको छ । यस कुण्डमा नुहाउने तथा पूजाआजा गरिने चलन भने छैन ।

सरस्वती कुण्ड भैरवकुण्डको निकासवाट गएको पानीबाट केहि तल वनेको कुण्डलाई सरस्वती कुण्डको नामले चिनिन्छ । यो कुण्ड गोसाईकुण्ड जस्तो फराकिलो चौडा र भैरवकुण्ड जस्तो गाढा निलो र गहिरो रुपमा पानीको मात्रा रहेको पाइदैन । सूर्यकुण्ड गोसाईकुण्डवाट करिव १ घण्टाको पैदल यात्रा पश्चात सूर्य कुण्ड पुग्न सकिन्छ । नुवाकोट जिल्ला भएर बग्ने तादीखोलाको उदगम स्थलको रुपमा रहेको यस कुण्ड नुहाएर सूर्यको दर्शन गरेपछि मरणापरान्त स्वर्ग गइन्छ भन्ने जन विस्वास रहेको छ । त्यसैगरी पार्वती कुण्ड सदरमुकाम धुञ्चे देखि उत्तर गतलाङ गाविसमा रहेको छ । यस कुण्ड घनाजंगलको काखमा अवस्थित छ । यस कुण्डलाई स्थानीय भाषामा छेदीङ कुण्ड भनिन्छ । यस कुण्डमा प्रत्यक बर्षमा पर्ने जनै पूर्णिमाका दिन मेला लाग्ने गर्दछ । यस कुण्डको वरपर वोझो नामको जडीवुटी प्रसस्त पाइन्छ । सदरमुकाम धुञ्चेवाट ३४ कि.मि. को दूरीमा यो कुण्ड रहेको छ । रसुवा जिल्लामा प्राकृतिक रुपमा तातोपानीका मुलहरु समेत पाइन्छ । चिमिलेमा तातोपानीको मुल रहेको छ । यो प्राकृतिक तातोपानीको कुण्डमा कार्तिक देखि मार्ग महिनामा नुहाउने मानिसहरुको भीड हुने गर्दछ । कुण्डमा नुहाउँदा धर्म मात्र नभएर तथा चर्म तथा वाथको रोगवाट मुक्त हुने बिश्वास रहेको छ ।

नुवाकोट र रसुवाको सीमावर्तिमा रहेको फलाखुखोलाको संगमस्थल वेत्रावतीमा पर्दछ । जुन स्थान बकाठमाण्डौ देखि ७८ कि.मि. र रसुवा जिल्लाको सदरमुकाम घुन्चे बाट ४० कि.मि को दुरीमा पर्दछ । गोसाईकुण्ड मुहान गरी वगेको त्रिशूली नदी र वेतधाराको उद्गम स्थल रहेको फलाखुखोलाको संगस्थल वेत्रावतीलाई उत्तर गयाको नामले चिनिन्छ । यस उत्तर गयामा श्राद्ध गरेर दिएको तर्पण पितृको हातमा पर्ने, पितृ तर्न सक्ने विश्वासले माघ महिना र माघे औसीमा पितृ भक्तहरु श्राद्ध गर्न यहाँ आउँदछन । साथै हरिवावोधनी एकादशीका दिन ठूलो मेला लाग्ने गर्दछ । श्रद्धालु भक्तजनहरु फुल वगाउने तोरण तार्ने कार्य पनि गर्दछन । नेपाल र भोट विच भएको युद्ध रोक्न १९१२ मा सन्धि भएकोले नेपालको इतिहासमा वेत्रावती सन्धिको नामले पनि यो स्थान महत्वपूर्ण मानिन्छ ।

पछिल्लो समयमा रसुवा जिल्लामा सडक निर्माणको कार्य तिब्ररुपले बढेको छ । सदरमुकाम घुन्चे–स्याफ्रुबेंसी १२ कि.मि.पर्दछ भने स्याफ्रुबेसी–रसुवागढी ११ कि.मि.सडक निर्माण कार्य अगाडि बढिरहेको छ । रसुवागढी नेपाल तिब्बत सिमानामा पर्दछ भने सिमापारी तिब्बतीय ब्यापारीक केन्द्र केरुङ् पर्दछ । पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवाको वेत्रावती स्याफ्रुबेंसी खण्ड हुदै चीन जोड्ने यो सडकले रसुवा जिल्लालाई मात्र होइन देश लाईनै आर्थिक विकासमा टेवा मिल्ने छ । नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुरुप स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर हिमाली सडकको निर्माण कार्य प्रारम्भ भएको छ । स्याफ्रुबेंसी रसुवागढी केरुङजस्तो ऐतिहासिक राजमार्गले पश्चिम तिब्बतस्थित मानसरोवर कैलाश पर्वत जानको लागि यो सडक छोटो हुनेछ । ऐतिहासिक रसुवागढी नौहजार दुईसय सात फिटको उचाइमा रहेको छ । स्याफ्रुबेंसी रसुवागढी सम्मको सडक चीन सरकारले बनाउने भएको छ । काठमाडौदेखि धुच्चेसम्मका ११८ कि.मि. सडक फराकिलो बनाउने बारेमा पनि नेपाल र एसियाली विकास बैंकबीच सहमति भइसकेको छ । यसैगरी धादिङ् जिल्लास्थित पृथ्वी राजमार्गको गल्छीदेखि स्याफ्रुबेंसीसम्मको सडक निर्माण भएको छ । स्याफ्रुबेंसी रसुवागढी सडक निर्माण कार्य सम्पन्न भएपछि रसुवाको सामाजिक र आर्थीक अवस्थामा ठूलै परिवर्तनको सम्भावना रहेको छ । केरुङग आफैंमा सुन्दर र फराकिलो क्षेत्र हो । केरुङगथ्याङ् खुला क्षेत्रभित्र सानो तर रमणीय उपत्यका पनि हो । यो सडक निर्माण भएपछि नेपाल र भारतका तीर्थयात्री र पर्यटकहरुका लागि मानसरोवर कैलाश पुग्न कोदारी राजमार्गको तुलनामा छोटो मार्ग पर्दछ ।

स्याफ्रुबेंसी रसुवागढी सडक निर्माण सम्पन्न भएपछि नेपाल र चीन दुवै देशले व्यापार र पर्यटनको माध्यमद्धारा उत्साहजनक लाभ लिन सक्नेछन । ल्हासा र अझ चीनको भित्रीभागका वस्तु र सेवा सुविधा झनै सजिलै र सस्तोमा नेपालमा उपलब्ध हुनेछन । चिङधाई तिब्बत राजमार्गको निर्माण पूरा भएपछि अझ यो सम्भव हुनेछ । स्याफ्रुबेंसी रसुवागढी सडकले नेपाल र चीनबीच व्यापार बढाउनुका साथै यसलाई दक्षिण सीमासम्म विस्तार गर्नसके भारतले समेत फाइदा पुग्नेछ । यो सडक निर्माण भएपछि नेपाल र भारत जोड्ने सबैभन्दा कम दूरीमा रहेको वीरगञ्ज, हेटौंडा, नारायणगढ, त्रिशूली, धुन्चे र स्याफ्रुबेंसी रसुवागढी केरुङ् मार्गको लम्बाइ तीनसय किलोमिटर मात्र रहनेछ ।

रसुवा जिल्लाको विभिन्न क्षेत्रमा भूमिगत संरचनाबाट चिलिमे, गोल्जुङ, स्याफ्रु जस्ता जिल्लामा दर्जनौ स्थानमा विद्युत उत्पादन हुन थालेको छ । रसुवा जिल्लामा विद्युत उत्पादन गर्नको लागि धेरै कम्पनीहरुले चासो देखाउन थालेका छन । चिलिमे जलविद्युत कम्पनिको सहायक कम्पनिको रुपमा साञ्जेन जलविद्युत कम्पनिले ५७ र रसुवागढी जलविद्युत कम्पनिले १ सय ११ मेगावाटको विद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाईसकेको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरणले ६० मेगावाट क्षमतामा माथिल्लो त्रिशुली ३ ए, मोल्निया पावर कम्पनिद्धारा मैलुङ ५ मेगावाट क्षमतामा विद्युत आयोजना सञ्चालनमा ल्याईसकेको छ । उत्तरी रसुवाको लामा होटलमा बाध बाधी लाङटाङ खोलाको पानीबाट स्याफ्रुवेशी पारिको गन्धक भीर नजिक उत्पादन गरिने २ सय ३२ मेगावाट क्षमताको विद्युुत आयोजनाको अध्ययन कार्य भईरहेको बताइएको छ । हाकुमा त्रिशुली ए आयोजना अन्र्तगत २ सय १६ मेगावाट क्षमताको जलविद्युत आयोजना पनि संन्चालनमा आएको छ । विद्युत उत्पादन गर्न सम्भावना भएका रसुवाको ठाडा खोलाहरुमा जे जति अध्ययन गरिएको छ । सवै स्थानमा विद्युत उत्पादन हुने हो भने नेपालकै सवैभन्दा बढि विजुली उत्पादन गर्ने जिल्लाका रुपमा रसुवा हुनेछ ।

रसुवा जिल्लामा ऐतिहासिक प्राकृतिक गोसाईकुण्डको मात्र नभएर वातावरणीय धरातलको समेत अवलोकन गर्न सकिन्छ । लाङ्टाङ् राष्ट्रिय निकुञ्जले संरक्षण गरेको जंगल र त्यहा पाइने हिमाली वन्यजन्तु, जनजाति र सस्कृतिसँग रुचिराख्ने मानिसहरूको लागि तामाङ् सस्कृतिको बारेमा अध्ययन,अनुसन्धान गर्न समेत सकिन्छ । तिव्वतसँगको लडाइमा किल्ला बनाइएको रसुवागढीको ऐतिहासिक स्थल राम्चे भन्दा दक्षिण भेगका वजार उन्मुख ग्रामीण वस्ती ऐतिहासिक कालिकास्थान, जिवजिवे, सरमथली, वरपरका पहाडी श्रृखलामा रहेको सुन्दर गाउँहरुको अवलोकन समेत गर्न सकिन्छ । एक पटक रसुवा जिल्ला को भ्रमण गर्नुहोस प्राकृतिक र धार्मिक सन्तुष्टी प्राप्त गर्नुहोस् ।

मितिः – २०७० मंसिर २१ गते, दाङ्

यो लेखलाई केबी मसालको ब्लगमा पनि हेर्नुहोस्।

रसुवाका पाँचै पालिकाका अवसरहरू

-प्रेमप्रसाद पौडेल-

जलविद्युत, पर्यटन, रसुवागढी नाका तथा लाङटाङ राष्ट्रिय निकुञ्ज र यसका वरपर रहेका दुर्लभ पशुपंक्षी, जैविक विविधता, जडिबुटी खेती, कृषि पर्यटन तथा उत्पादित वस्तुका बजारीकरणको माध्यमबाट रसुवाका  गाउँ पालिकाहरूको विकास गर्ने सम्भावना रहेको छ ।  सम्मृद्ध गाउँ पालिका निर्माण गर्न प्रशस्त पूर्वाधारहरू रहेका छन् मात्र छ पवित्र र इमान्दार प्रयासको खाँचो ।

सुवा जिल्ला पुनर्संरचनाका क्रममा विवादित बन्यो । सम्पूर्ण जिल्लालाई तीन गाउँ पालिकामा पुनर्संरचना गर्ने भन्ने पुनर्संरचना आयोगको कार्यविधि अनुसार पुनर्संरचनाका लागि जिल्लाले सिमाङ्कन गर्दा सदरमुकाममा झडप सिर्जना भएको थियो । सो विवाद पश्चात आयोगको नयाँ कार्यविधि अनुसार पुनः तीनदेखि पाँच गाउँ पालिका निर्माण गर्न सकिने भएपछि जिल्लामा रहेका राजनीतिक दल तथा सरकारी निकायबाट पाँचवटा गाउँ पालिकामा रसुवालाई पुनर्संरचना गर्न सिफारिस गरी पठाए । सोही अनुरूप रसुवामा ५ वटा गाउँपालिकाको निर्माण भएको छ ।

धेरै वर्षदेखि पर्यटन पूर्वाधारको हिशावले नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रसुवा अर्थात लाङटाङ क्षेत्रले आफ्नो पहिचान बनाइरहेको छ । पछिल्लो समयमा जलविद्युत विकासका हिशावले पनि रसुवाले पहिचान स्थापित गराउँदै छ र रसुवागढी नाकाको विकाससँगै रसुवाले ठूलाठूला दुई देश चीन र भारतसँग व्यापारिक सम्बन्ध विस्तार गर्न प्रयत्नशील छ । त्यससँगै रसुवाले कृषि क्षेत्र (जडिबुटी, तरकारी र पशुपालन) मा पनि सहभागिता जनाउँदै आएको छ । यी विविध सम्भावनासँगै पाँच गाउँ पालिका अन्र्तगत रहेका विकासका सम्भावनालाई यहाँ चर्चा गर्न खोजिएको छ ।


गाउँ पालिका (एक) : आमाछोदिङ्‍मो (पार्वतीकुण्ड) गाउँपालिका – यस गाउँ पालिका अन्तर्गत गतलाङ, गोज्जुङ, चिलिमे र हाकु गाविसको वडा नं १ देखि ७ सम्मका वस्तीहरू समावेस गरिएको छ । जसको केन्द्र गोल्जुङ रहेको छ । यस गाउँ पालिकामा तामाङ सम्पदा मार्ग अर्थात् ग्रामीण पर्यटनका पूर्वाधारहरू रहेका छन् र वर्षेनी आन्तरिक तथा वाह्य पर्यटककौ आवागमन भइरहेको छ । गणेश हिमाल, साञ्जेन हिमाल, पाल्दोरपिक जस्ता हिमाल तथा धार्मिक र पर्यटकीय स्थल पार्वतीकुण्डका कारण यहाँ दीगो पर्यटन व्यावसाय सञ्चालन गर्न सकिन्छ । विनाशकारी भुकम्पका कारण आयुर्वेदिक उपचारको स्थल तातोपानी कुण्डमा क्षति पुगेको छ । यसको उचित संरक्षण गर्न सकेमा आर्थिक समृद्धिमा यसले टेवा पु¥याउँदछ । यहाँ परम्परागत शैलीका घरहरू, मानी, छुर्तेन र गुम्बाहरू रहेका छन् । नाकथली जस्तो रमणीय दृश्यावलोकन गर्ने स्थलहरू यहाँ प्रशस्तै छन् । त्रिशूली करिडोरसँगै यो पालिका सञ्चालित चिलिमे जलविद्युत आयोजना (२२ मे.वा.), निर्माणाधिन माथिल्लो साञ्जेन (१४.८ मे.वा.), तल्लो साञ्जेन (४२.५ मे.वा.), तथा निर्माणका लागि सर्भे सम्पन्न सालासुङ्गी (७८ मे.वा.) जस्ता आयोजनाहरूको प्रभावित क्षेत्र पनि हो । चिराईतोलगायतका विभिन्न जडिबुटी खेतीबाट पनि यहाँका जनताले जीविकोपार्जनमा उल्लेखनीय सुधार गरिरहेका छन् । यस क्षेत्रमा विविध ग्रामीण कृषि सडकसँगै पासाङल्हामु राजमार्ग तथा सोमदाङ सडक फैलिएको छ । प्राथमिक तथा निम्न माध्यमिक विद्यालय बाहेक यहाँको शैक्षिक उन्नयनका लागि पार्वतीकुण्ड उमावि, नेरामावि, गतलाङ प्रमुख हो ।


गाउँ पालिका (दुई) : उत्तरगया गाउँ पालिका – लहरेपौवाको वडा नं ८ बाहेक, ठूलोगाउँ, डाँडागाउँ र हाकु गाविसको ८ र ९ वडालाई समावेस गरी उत्तरगया गाउँ पालिका बनेको छ । जसको केन्द्र पैरेवेसी प्रस्ताव रहेको छ । रसुवा प्रवेशको मुख्य द्वारको रूपमा रहेको यो पालिकामा अन्य पालिकामा जस्तै यस क्षेत्रमा पनि ग्रामीण पर्यटनको पूर्वाधार विकास गर्न सकिन्छ । यहाँ धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय महत्वको क्षेत्र बेत्रावती वा उत्तरगया, ठूलोगाउँस्थित भूमेस्थान प्रमुख आकर्षणको रूपमा रहेको छ । यहाँ जडिबुटी, तरकारी खेती तथा पशुपालनका व्यावसायलाई बढावा दिन सकिन्छ । जसबाट यहाँको जीवनयापनमा सुधार गर्न सकिन्छ । त्रिशूली करिडोरसँग जोडिदै माथिल्लो त्रिशूली थ्री ए (६० मे.वा.), माथिल्लो त्रिशूली थ्री बी (४० मे.वा.), त्रिशूली एक (२१६ मे.वा) अपर मैलुङ ए (८ मे.वा.), फलाँखु (१३.५ मे.वा.) को प्रभावित क्षेत्र पनि हो यो । शैक्षिक विकाससका लागि प्राथमिक विद्यालय बाहेक उत्तरगया क्याम्पस, डाँडागाउँ मावि, नवविजयी महेन्द्र मावि मुख्य विद्यालयहरू हुन् ।


गाउँ पालिका (तीन) : कालिका गाउँ पालिका - धैबुङ, राम्चे, लहरेपौवाको ८ नं वडा तथा भोर्लेका १, ६, ७, ८ र ९ वडा समावेस गरी कालिकास्थान केन्द्र रहेको छ । जुन् क्षेत्रमा कृषि उत्पादन तुलनात्मक रूपमा बढी रहेको पाइन्छ । त्रिशूली करिडोरसँगै फलाखु खोला जलविद्युत आयोजना (१३.५ मे.वा.) को प्रभावित क्षेत्र हो । यहाँ पर्यटन पूर्वाधार निर्माण नभएको भए पनि नौकुण्ड गाउँ पालिकासँग जोडेर पार्वतीकुण्ड गाउँ पालिकामा जस्तै ग्रामीण पर्यटनका पूर्वाधारहरू विकास गर्न सकिन्छ । यस क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विविध जैविक र प्राकृतिक सम्पदाहरू रहेका छन् । धैबुङ चित्रकालिका, नीलकण्ठ वा जलेश्वर महादेव, ज्वालामुखी भूमे जस्ता धार्मिक स्थलहरू, पृथ्वीनारायण शाहले राज्य एकीकरण वा तिव्वतसँग ऐतिहाँसिक युद्ध हुँदा धैबुङकोट (अहिले छैन) तथा यस वरपरका स्थलहरूको महत्व झल्केको पाइन्छ । शैक्षिक विकासका लागि प्राथमिक र नीजि विद्यालय बाहेक कालिका हिमालय क्याम्पस, नीलकण्ठ नमूना मावि, सेतीदेवी मावि प्रमुख विद्यालयहरू हुन् ।


गाउँ पालिका (चार) : गोसाइँकुण्ड गाउँ पालिका – सदरमुकाम धुन्चेलगायत स्याफ्रु, बृद्धिम, टिमुरे, थुमन र लाङटाङ गाविसहरू यस गाउँ पालिकामा समावेश गरिएको छ । जसको पालिका केन्द्र स्याफ्रुवेसी रहेको छ । यो गाउँ पालिकाअन्तर्गत नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ भ्याली, गोसाइँकुण्डलगायतका कुण्डहरूमा वर्षैभरि देश तथा विदेशबाट हज्जारौं पर्यटकहरू आउने गर्दछन् । जसबाट व्यावसायिक विकास भइरहको छ । परम्परागत तथा ऐतिहाँसिक स्थलहरू मानी, छुर्तेन, गुम्बाहरू, हिमाल, तालतलैया, जैविक विविधता, वनस्पति, जीवजन्तु आदि यस क्षेत्रका मुख्य आकर्षण हुन् । बृद्धिम र टिमुरे अन्तर्गत हेका दुधकुण्ड र रिभरकुण्ड पनि यस क्षेत्रको विकासोन्मुख अर्को पर्यटकीय क्षेत्र हो । विभिन्न जैविक तथा प्राकृतिक छटाले पूर्ण यस क्षेत्रमा लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिहरू रहेका छन् । यस गाउँ पालिका अन्तर्गत निर्माणाधिन रसुवागढी सुख्खा बन्दरगाह रहेको छ । व्यापारिक नाकासँगै विविध विषयहरू पुर्खासँगको इतिहाँस, अंशुवर्माकी छोरी भृकुटी घर माइती गर्दा यही बाटो प्रयोग गर्ने गरेको किंवदन्तीका कारण पनि यस क्षेत्रले आफ्नो पहिचान स्थापित गरिरहेको छ । त्रिशूली करिडोरसँग जोडिदैं निर्माणाधिन रसुवागढी जलविद्युत आयोजना (१११ मे.वा.) त्रिशूली एक (२१६ मे.वा.) लाङटाङ खोला (१० मे.वा.) शहिद दीक्षा (४ मे.वा.) र सञ्चालित चिलिमे जलविद्युत आयोजना (२२ मे.वा.) को प्रभावित क्षेत्र हो । यस क्षेत्रमा जडिबुटी खेती उत्पादन तथा प्रवद्र्धन भइरहको छ । यस पालिकामा पासाङल्हामु राजमार्गसँगै विभिन्न कृषि सडकहरू रहेका छन् । शैक्षिक विकासका लागि प्राथमिक र निम्न माध्यमिक बाहेक रसुवा क्याम्पस, श्यामेवाङफेल क्याम्पस यहाँको प्रमुख विद्यालयहरू हुन् ।

 


गाउँ पालिका (पाँच) : नौकुण्ड गाउँ पालिका – सरमथली, यार्सा र भोर्लेका २,३,४,५ र ७ वडा समावेस गरी पारच्याङलाई केन्द्र तोकी नौकुण्ड गाउँ पालिका तोकोएको छ । नं तीनको गाउँ पालिका हुँदै यस क्षेत्रमा पर्यटन विकास गर्न सकिनै प्रवल सम्भावना रहेको छ । यस क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत विविध प्राकृतिक छटाहरू, नौकुण्ड–गोसाइँकुण्ड पर्यटन मार्गको विकास, रसुवा र नुवाकोटदेखि सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका पर्यटकीय पूर्वाधारसँग यहाँकौ पर्यटकीय सम्भावनालाई जोड्न सकिन्छ । त्रिशूली करिडोरसँग नजोडिएको एक मात्र गाउँ पालिका हो यो । फलाँखु खोला (१३.५ मे.वा.) को प्रभावित तथा निर्माणस्थल पनि हो । यस गाउँ पालिका अन्तर्गत पासाङल्हामु राजमार्गको कालिकास्थान, घुम्तीबाट र लहरेपौवाको स्याउबारीबाट कृषि सडक जोडिएको छ र सुधारोन्मुख अवस्थामा छ । शैक्षिक विकासका लागि प्राथमिक विद्यालय बाहेक नारायणस्थान मावि, फाम्चेत मावि, निर्कुभूमे मावि, वागेश्वरी मावि प्रमुख विद्यालयहरू हुन् ।


जलविद्युत, पर्यटन, रसुवागढी नाका तथा लाङटाङ राष्ट्रिय निकुञ्ज र यसका वरपर रहेका दुर्लभ पशुपंक्षी, जैविक विविधता, जडिबुटी खेती, कृषि पर्यटन तथा उत्पादित वस्तुका बजारीकरणको माध्यमबाट रसुवाका गाउँ पालिकाहरूको विकास गर्ने सम्भावना रहेको छ । सम्मृद्ध गाउँ पालिका निर्माण गर्न प्रशस्त पूर्वाधारहरू रहेका छन् मात्र छ पवित्र र इमान्दार प्रयासको खाँचो ।

गाउँपालिकाद्वारा प्रकाशित पार्श्वचित्र


 


Support By :

Media Partners: 

Media Partner 1 Media Partner 2 Media Partner 3 Media Partner 4 Media Partner 5 Media Partner 6

Our Team 

Manager : Prem Prasad Paudel 

Manager : 

Manager : 

Operating 

Kalika Rural Municipality, 05, Rasuwa

 

Copyright (c) RasuwaNepal.Com 2020. All rights reserved. Site Managed By : Template ::::
Designed by mixwebtemplates.com