जिबजिबेमा ग्रामीण अस्पताल शिलान्यास

जिबजिबे, रसुवा, मङ्सीर १५ गते । जिबजिबेमा रहेको ग्रामीण अस्पताल निर्माणको लागि शिलान्यास गरिएको छ । कालिका गाउँपालिकाका अध्यक्ष सीताकुमारी पौडेलको प्रमुख आतिथ्यतामा उक्त अस्पताल निर्माण कार्यको लागि शिलान्यास गरिएको हो ।

अस्पताल नभएका ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्ने नेपाल सरकारको नीति ता कार्यक्रम अनुसार जिबजिबेमा १५ शैंयाको ग्रामीण अस्पताल निर्माण गर्न लागिएको हो । 

जिबजिबेमा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा सञ्चालन हुँदै आएकोमा यस अघि नै प्रदेश सरकार र गाउँपालिकाले ग्रामीण अस्पतालको रूपमा विकास गर्ने लक्ष्य लिएको कालिका गाउँपालिकाले बताएको छ ।

नेपालका सात वटै प्रदेशका ३९६ स्थानीय तहमा अस्पतालको भवन निर्माणका लागि यो वर्ष मात्रै नेपाल सरकारले ६ अर्ब १२ करोड २६ लाख बजेट निकासा गरेको छ । 

नेपाल सरकारले सातवटै प्रदेशमा एक/एक वटा सरूवा रोग अस्पताल पनि निर्माण गर्न लागेको छ ।