मनमोहक स्थल चन्दनबारी

रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिकाको वडा नं ५ मा पर्ने चन्दनबारी गोसाइँकुण्ड पदमार्गको मनोरम स्थल हो । यहाँ रहेको एक प्राचीन गुम्बा – सिङ्गुम्बाका कारण यस स्थलको नाम सिङ्गुम्बा भनेर पनि चिनिन्छ ।

विशेष गरी होटलहरू रहेको यस स्थानमा नेपाल सरकार, दुग्ध विकास बोर्डद्वारा सञ्चालित चिज फ्याक्ट्री पनि रहेको छ । चौंरीको दुधबाट उत्पादित चिज, घिउ, बटर आदि यस स्थानका उत्पादनहरू हुन् ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यो स्थलमा रसुवाको सदरमुकाम धुन्चेबाट एक दिन पुग्न सकिन्छ भने छिटो हिँडाई भएका मानिसहरू विशेष गरी स्थानीय व्यक्तिहरू एक बिहानमा नै यस स्थानमा पुग्ने गर्दछन् । यहाँबाट चोलाङपाटी, लौरीबिना, बुद्द मन्दिर, गणेश गौंडा हुँदै नेपालीहरूको पवित्र तीर्थस्थल गोसाइँकुण्ड र त्यहाँबाट मेलाम्ची, हेलम्बु क्षेत्रतर्फ आउने जानेको संख्या उल्लेख रहेको पाइन्छ ।

यहाँको बाटो गरेर नौकुण्डका तालहरू हुँदै रसुवाको तल्लो क्षेत्र र नुवाकोट र काठमाण्डौंसम्म पनि पैदल यात्रा गर्न सकिन्छ ।