इष्टिमेट अनुसार काम नसकिँदै योजनाको अन्तिम बिल भुक्तानी

सर्स्युँ, रसुवा, असोज १२ गते । रसुवाको नौकुण्ड गाउँपालिका, वडा नं ६ मा इष्टिमेट अनुसारका सबै कार्य सम्पन्न नभई योजनाको अन्तिम बिल भुक्तानी भएको जनगुनासो आएको छ । योजना सम्पन्न नहुँदै अन्तिम भुक्तानी लिएको वर्ष बित्दापनि धारा नबनेको, उपभोक्तासँग उठाएको रकम गायव भएको स्थानीयहरुले बताएका छन् ।

पोलोखर्क मुहान गरी दारघारी–सर्स्युँ खानेपानी योजना ३५ लाख लागतमा सञ्चालनमा आएको हो । योजनाको अन्तिम बिल भुक्तानी भएपनि धारा नबनेको, धारामा पानी नआएको बताइएको छ ।

फण्डबोर्ड तथा परिबर्तन नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सञ्चालित उक्त आयोजनामार्फत् २० हजार लिटर क्षमताको रिजर्भेसन ट्याङ्की बनेको छ ।

स्थानीय नुर्पु तामाङका अनुसार ३२ वटा धारा तयार हुनपर्नेमा ६ वटाभन्दा धारा बनेको छैन । बितरण लाइनका लागि पाइप नै छैन । आफ्नो घर नजिकै धारामा पाइप पनि नदिएपछि अर्को मुहानबाट पानी ल्याएर हालको समस्या टारेको उहाँले बताउनुभयो ।