रसुवाका महत्वपूर्ण स्थलहरूको जानकारी

आमाको नामले पुकारिने पार्वतीकुण्ड

रसुवा जिल्ला, आमाछोदिङ्‍मो गाउँपालिका, वडा  ३, गतलाङमा पर्ने यो कुण्डको धामिक तथा पर्यटकीय महत्व रहेको छ । स्थानीय तामाङ भाषामा पार्वतीलाई आमा र ताललाई छोदिङ भनिन्छ । त्यसैले स्थानीयहरू यसलई आमाछोदिङ्‍मो भन्दछन् । यही पार्वतीकुण्डको नामबाट पार्वतीकुण्ड (आमाछोदिङ्‍मो) गाउँपालिकाको नामाकरण समेत् गरिएको छ । स्थानीयहरू यस कुण्डलाई आमाको संज्ञाले पुकार्ने गर्छन्। 

समुद्री सतहबाट करीब २५५० मीटरमा रहेको यो कुण्ड हुँदै सोमदाङ, गणेश हिमाल र धादिङका विभिन्न पर्यटकीय स्थलमा जान सकिन्छ ।

गतलाङ गाउँको सिरानमा रहेको यस कुण्डसँगै यहाँ विविध वनस्पति, वन्यजन्तु र अन्य दृश्यावलोकनका महत्वहरू रहेका छन् ।

लाङटाङ हिमालको फेदीमा रहेको दुधकुण्ड र यस पार्वतीकुण्ड दिदी बहिनी भएको धार्मिक विश्वास रहेको छ । जनैपूर्णिमाका दिन हरेक वर्ष मेला लाग्ने यो कुण्ड र वरपर वर्षैभरि स्वदेशी तथा बिदशी पर्यटकहरू आउने गर्छन्  ।